देश

पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई सदरमुकाम ल्याइयो

खाँदबारी, असोज २९–संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलो सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सदरमुकाम खाँदबारी ल्याएको छ । भोटेलाई प्रहरीले भोटखोला गाउँपालिका–२ लिङ्गमबाट सोमबार पक्राउ गरेको थियो । खाँदबारी नगरपालिका–१ का तोप्चेनको साथबाट प्रहरीले ५ किलो सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको थियो ।

पक्राउ परेका भोटे र सुनका बारेमा संखुवासभा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । भोटेलाई सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा झोलामा सुन र नगद फेला पारेपछि पक्राउ गरेको थियो । भोटेको साथबाट बरामद भएको सुन चीन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुलेको छैन ।

यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नु पर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो । सुनसहित पक्राउ परेका भोटेलाई गएराति सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

Featured