देश राजनीति

महरा प्रकरण:अस्पतालबाटै लगियो अदालत

काठमाडौं, असोज २८–संघीय संसदकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

१५ असोजमा सभामुख पदबाट राजिनामा दिएका महरालाई जिल्ला अदालतको आदेशमा गत १९ असोजमा प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो । उनी दसैंको बिदाको दिन अर्थात् अष्टमीमा पक्राउ परेका कारण अदालत बन्द भएपछि प्रहरी हिरासतमा थिए ।

मंगलबार अदालत खुलेसँगै म्याद थपको लागि जिल्ला अदालतमा पेस गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत हाजिर गराइएको हो ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेपछि महरालाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । हिरासतमा रहेकै बेला उच्च रक्तचापको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिम अस्पताल भर्ना गरिएको थियो ।

हिरासतमा अनुसन्धानका लागि लिएका व्यक्तिको स्वास्थ्य स्थितिमा गडबड देखिए सरकारी अस्पताल लैजाने गरिन्छ तर उनलाई निजी अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालबाटै अदालत लगिएको छ । महरालाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनको संघीय संसदको हैसियतमा प्राप्त सबै अधिकार र सुविधा कटौती गरिएको छ ।

Featured