देश

आलम प्रकरण : प्रमाण लुकाउन इँटाभट्टै बन्द

काठमाडौं, असोज २८–१२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन। त्यो स्थान खेतमा परिणत भइसकेको छ। विस्फोट भएको घरमा कोही बस्दैनन्। जहाँबाट इँटाभट्टाको दूरी करिब ५ सय मिटर छ।

घटनाको दुई वर्षपछि इँटाभट्टा बन्द भएको थियो। पहिलो संविधानसभा चुनावको अघिल्लो दिन राजपुर फरदवामा बम विस्फोट भएको थियो। प्रमाण लुकाउन मृतक तथा घाइतेलाई भट्टामा जलाएको आरोप निलम्बित सांसद मो अफताब आलमविरुद्ध लागेको छ। रौतहट प्रहरीले आइतबार आलमलाई पक्राउ गरेको छ। अदालत बन्द रहेकाले मंगलबार मात्रै म्याद थप गर्ने प्रहरीको तयारी छ।

भट्टा सञ्चालक पूर्वसभासद मुस्ताक राजाबाबुको केही वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो। उनी आलमका भान्जा हुन्। समाजवादी पार्टीका स्थानीय नेता किरण साहले भट्टाका कामदार अधिकांश भारतीय रहेको र केही आलमकै पक्षमा भएकाले घटना लुकाउन सजिलो भएको दाबी गरे।

आलम पक्राउपछि भने पीडितले न्याय पाउने आशा जागेको उनको भनाइ छ। तत्कालीन कांग्रेस नेतृत्वको सरकारका आडमा आलमले प्रमाण नष्ट गरेको आरोप उनले लगाए। त्यस बेलाको घटनाबारे राजपुर फरदवाका स्थानीय बोल्न चाहँदैनन्।

आफ्ना नेतालाई फसाएको बुझाइ धेरै स्थानीयको छ। आलमका आफन्त शेष वकिलले राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयले बन्द गरेको फाइल राजनीतिक प्रतिशोधमा ब्युँताइएको उनको बुझाइ छ। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured