देश

चिनियाँ राष्ट्रपति सीको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध स्थापना

बुटवल, असोज २६–ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक शहर सियान नगरीबीच भगिनी सम्बन्ध स्थापना भएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्त्वपूर्ण खुट्किलो हुने विश्वास गरिएको छ ।

चीनको सियान सिटी त्यहाँका राष्ट्रपति सीको गृहनगर पनि हो । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको हो । चीनका राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले आइतबार भव्य समारोहका बीच उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि बुटवलका मेयर सुवेदी र सियान शहरका तर्फबाट चिनियाँ राजदूतले एकअर्कालाई हस्तान्तरण गरेका थिए । भगिनी सम्बन्धले संस्कृति आदानप्रदान हुने र दुवै नगरका बीचमा सुमधुर सम्बन्ध कायम हुने विश्वास गरिएको छ ।

सियान चीनमा सांस्कृतिक हिसाबले धनी नगर मानिन्छ । यो त्यहाँका तत्कालीन विभिन्न ऐतिहासिक शहरहरूको मुख्य राजधानी थियो । त्यहाँ करिब एक दर्जन जति वंशको ऐतिहासिक शासनकालमा महत्त्वपूर्ण विकासका कामहरू भएका छन् । त्यस्तै, नेपालको बुटवल पनि बुद्धबलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकसको अवशेष फेला परेको क्षेत्र हो ।

सियान शहरका उच्च अधिकारीहरूले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यस क्रममा उनीहरूले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्त्वपूर्ण रहेको भन्दै प्रशंसासमेत गरेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

Featured