देश साहित्य

आजदेखि धनगढीमा रामकृष्ण लीला महोत्सव हुँदै

धनगढी, असोज २६–धनगढीमा २६ असोजदेखि ८ कात्तिकसम्म ‘श्री रामकृष्ण लीला ज्ञान महोत्सव २०७६’ आयोजना हुने भएको छ । मानस सांस्कृतिक समाजको आयोजनामा धनगढीको खुला मञ्चमा उक्त महोत्सव हुने भएको हो ।

लोप हुँदै गएको संस्कृतिलाई जोगाउने र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष आदित्य जोशीले जानकारी दिए । धनगढी उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको उक्त महोत्सवमा भक्तजन तथा आमनागरिकको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ ।

रामकृष्ण लीलाका लागि कलाकार तयार भइसकेको आयोजकले बताएका छन् । विभिन्न कार्यक्रममा रामलीलाका विभिन्न पात्रको अभिनय गरिसकेका शिवदत्त पन्तले रामकृष्ण लीलाका पात्रहरूलाई तालीम दिएका छन् । कार्यक्रम साँझ ७ देखि राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् ।

Featured