देश

प्रतिबन्धपछि बिप्लवका कार्यकर्ताले सडक निर्माण छोडे

सुर्खेत, असोज २६–बिप्लवका कार्यकर्ताले कालिकोटको नरहरिनाथ गाउँपालिका–८, लालु–खुलालुमा निर्माण गरिरहेको सडकको निर्माण कार्य बन्द गरेका छन् । नेपाल सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सडक निर्माण कार्य रोकेका हुन् । बिप्लव समूहका कार्यक्रताले करिब २.५ सडक निर्माण गरिसकेको अवस्थामा सरकारले उक्त पार्टीमाथि प्रतिबन्ध लगाएपछि सडक निर्माण कार्य रोकेका हुन् ।

नेपाल सरकारको प्रतिबन्धपछि आफूहरू असुरक्षित भएकाले सडक निर्माण कार्य रोकेको उक्त समूहका स्थानीय कार्यकर्ता सागर विकले बताए । उनले भने, ‘सरकारले हामीलाई प्रतिबन्ध लगायो, असुरक्षित भएकाले सडक निर्माण कार्य रोकेका हौं ।’ सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकामा आफूहरूले सडक र्पुयाउने लक्ष्य राखेको तर, प्रतिबन्धका कारणले बीचैमा निर्माण कार्य छोड्नुपरेको विकको भनाइ थियो ।

स्थानीयका अनुसार सडक निर्माणका लागि बिप्लवका कार्यक्रताले एक डोजरसहित क्याम्प नै बनाएर बसेको र प्रतिबन्धपछि डोजर, क्याम्प हटाएको बताए । कालिकोटको नरहरिनाथ गाउँपालिकामा बिप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माको घर भएकाले पनि आफ्नो प्रभाव देखाउन सडक निर्माण गरेको स्थानीयको भनाइ छ । बिप्लवका कार्यकर्ताले सडक खन्न छाडेपछि अहिले गाउँपालिकाले सोही स्थानमा सडक निर्माण गरिरहेको छ ।

Featured