देश

माङ्सेबुङमा पूर्वाधार विकासको काम तीव्र

इलाम, असोज २५–‘इलामको कर्णाली’ भनेर चिनिने माङ्सेबुङ गाउँपालिकामा पूर्वाधार विकासका कामले तीव्रता पाएको छ । सडक, खानेपानी, सिँचाई, पर्यटन पूर्वाधार लगायतका कामले तीव्रता पाएको हो । माङ्सेबुङ गाउँपालिकालाई प्रदेश सरकारबाट प्राप्त ८ करोड रुपैयाँ बढी बजेटका योजनाहरु अहिले कार्यान्वयनका चरणमा छन् । बर्षमा ५ महिनाभन्दा बढी यातायातका साधन नचल्ने माङ्सेबुङमा सडक स्तरोन्नति, खानेपानी, सिँचाई र पर्यटन पूर्वाधारका कामहरु भइरहेका छन् ।

किरात धर्मावलम्वीहरुको धार्मिकस्थल लारुम्बा, राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मस्थल, माङ्मालुङ, गजुरमुखीधामजस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको माङ्सेबुङ भौतिक पूर्वाधारका दृष्टिले पछाडि परेकाले यी सबैलाई प्राथमिकतामा राखेर काम भइरहेको प्रदेश सांसद धिरेन्द्र सेर्मा ‘रमण’ले बताए ।

माङ्सेबुङ गाउँपालिकाले सामान्य सीपबाट सम्पन्न हुने साना योजनाहरु उपभोक्ता समिति र एउटा निश्चित मापदण्डको कामलाई ठेक्का प्रक्रियाबाट गराउने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । उनले भने, ‘स–साना योजनाहरु उपभोक्ता समितिमार्फत र अन्य ठूला योजनाहरु ठेक्का प्रक्रियाबाट भइरहेका छन् । गाउँपालिकाले विकासको गति बढाइरहेको छ ।’

प्रदेश सरकारको बजेटबाट किरातहरुको धार्मिकस्थल रहेको लारुम्बामा रिङ रोड, खेल मैदान, प्रहरी चौकी भवन, सडक, तटबन्द, गुरुयोजना कार्यान्वयन, लारुम्बामा चिडियाघर, गुरुआश्रम, प्रवेशद्वार, भ्यु टावर, विद्युत विस्तार कभर्ड हलजस्ता संरचना निर्माण भइरहेका छन् ।

उक्त योजनाहरु सांसद क्षेत्र विकास कोष र प्रदेश सरकारका विषयगत कार्यालयहरुबाट कार्यान्वयन हुँदै आएको माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी दिए । ‘हामी संघीयता कार्यान्वयनको चरणमा छौँ । जनतालाई सही अर्थमा विकासको अनुभूति दिलाउने हाम्रो प्रयास हो । बाटोघाटो, पर्यटन विकास र अन्य धेरै पूर्वाधार विकासका कामलाई विषयगत कार्यालयहरुमार्फत अघि बढाएका छौँ,’ उनले भने । माङ्सेबुङलाई सदरमुकाम इलाम बजार र झापाको दमक बजारसँग जोड्ने सडकलाई कालोपत्रे गर्ने कामसमेत भइरहेको अध्यक्ष इधिङ्गोले जानकारी दिए ।

Featured