देश राजनीति

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै, राष्ट्रपति भण्डारीले विमानस्थलमा स्वागत गर्ने

काठमाडौं, शनिबार २५–चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । सी अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विशेष विमानबाट अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी आज नेपाल आउन लागेका हुन् । सी करिब ९० जना प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लदैछन् । राष्ट्रपतिसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का दुई पोलिटब्युरो सदस्य, विदेशमन्त्री वाङ यी तथा सिपिसी तिब्बतका सेक्रेटरीसहितका उच्च अधिकारी प्रतिनिधिमण्डलमा सामेल हुने जनाइएको छ ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै सीको स्वागतका लागि विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने छन् । चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाले विमानस्थलमै गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ । उनको सम्मानमा २१ तोपको सलामी पनि दिइनेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ताका लागि शुक्रबार चेन्नेईको महावलीपुरम पुगेका सी त्यहाँबाट सीधै काठमाडौं आउन लागेका हुन् । २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनपछि सी नेपाल नेपाल भ्रमणमा आएका हुन् ।

Featured