देश

दुर्गा मन्दिरमा हेलिकोप्टरबाट पुष्पगुच्छा

जनकपुर, असोज १८–रौतहटकोे मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा आयोजित शतवार्षिकीको अवसरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ । जिल्लाकै प्रसिद्ध शक्तिपीठको रूपमा रहेको दुर्गा भगवतीको पूजा हुन थालेको सय वर्ष पुगेको उपलक्ष्यमा आकाशबाट पुष्प वर्षा गराइएको हो ।

दुर्गा भगवती गाउँपालिकाका स्थित मन्दिर रहेको गाउँ मत्सरीबाट विभिन्न कामको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका युवाहरूको सक्रियता तथा व्यवस्थापनमा पूजाको शतवार्षिकी तथा मेलालाई विशेष बनाउन हेलिकोप्टरबाट फूल वर्षाइएको हो ।

हेलिकोप्टरबाट मन्दिरको बेल पूजाको डोलामा पुष्प वर्षा हुने भएपछि आसपासको गाउँबाट हजारौं सर्वसाधारण मत्सरी पुगेका थिए । नेपालका विभिन्न जिल्ला तथा भारतको विभिन्न जिल्लाबाट दुर्गा मन्दिरमा दर्शन तथा पूजाका लागि मानिसहरू आउने गरेको मन्दिर व्यवस्थापनले जनाएको छ ।

पूजाको शतवार्षिकीको अवसरमा मन्दिर व्यवस्थापनद्वारा आयोजित पत्रकार सम्मेलनमा सय वर्षअघि गाउँमा अनेक महामारी फैलिएको र पूजा गरेपछि महामारीबाट गाउँलाई मुक्ति भएको सन्दर्भ सुनाइएको थियो ।

पत्रकार सम्मेलनमा राजपा नेपालको अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झा, प्रदेश राज्यमन्त्रीद्वय डा. डिम्पल झा र योगेन्द्रप्रसाद यादव र गाउँपालिका अध्यक्ष अरुणकुमार साहको उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष साहले मन्दिरलाई व्यवस्थापनको लागि चालू आर्थिक वर्षमा सात लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताएका छन्। यसैगरी प्रदेश राज्मन्त्री यादवले संसदीय विकास कोषको रकमबाट मन्दिरलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। अर्का राज्यमन्त्री डा. झाको पहलमा मन्दिरको एउटा घर ५० लाखको लगानीमा हालै निर्माण भएको छ ।

Featured