देश

आज सप्तमी, घरघरमा फूलपाती भित्र्याउने दिन, कालरात्रि पूजा

काठमाडौं, असोज १८–आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याएर दसैं मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी भित्र्याउने चलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा गरिन्छ ।

सप्तमीका दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने गर्छन् । कृषकहरु आज खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् । नवरात्रको सातौं दिन माता दुर्गाको सातौं शक्ति कालरात्रि स्वरुपको आराधना गर्ने गरिन्छ । ब्रह्माण्ड समान तीनवटा गोल नेत्र भएकी, कपाल फिँजाएकी, कालरात्रि देवीको श्वासप्रश्वासमा पनि आगोको ज्वाला निस्कने विश्वास छ । विकराल रुप धारिणी कालरात्रि देवी घनघोर अन्धकार रात समान कालो वर्णकी छन् ।

भक्तको अभिलाषा पूरा गर्ने भएकाले कालरात्रिको अर्को नाम शुभंकरी पनि हो । चार हातमध्य दायाँतिरका दुई हातमा फलामको दण्ड र खड्ग लिएकी कालरात्रि देवीको नवरात्रको सातौं दिनमा उपासना गर्नाले ब्रह्माण्ड विजय गर्न सक्ने सामथ्र्य साधकमा आउने विश्वास गरिन्छ । कालरात्रिको वाहन गधा हो । नवरात्रको सातौ दिनमा विशुद्ध चित्तवाला साधकले कालरात्रिको उपासना गर्नुपर्छ ।

यस दिनमा सहस्रार चक्रमा ध्यान गर्ने साधकले अतुलनीय शक्ति प्राप्त गर्छ । व्यापारमा सफलता प्राप्त गर्न, शत्रुमाथि विजय पाउन, गुमेको धन प्राप्त गर्न, कुण्ठा निवारण गर्न पनि कालरात्रिको उपासना ब्रह्मास्त्र सावित हुने विश्वास गरिन्छ । भक्तको अभिलाषा पूरा गर्ने कालरात्रिले भक्तलाई विजयी बनाउने शास्त्रीय मान्यता छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान सहस्रार चक्रमा केन्द्रित हुन्छ ।

आज काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

Featured