देश

पक्की पुल निर्माणको माग राख्दै २७औं दिन पनि अनशन जारी

डडेल्धुरा, असोज १७–नेपाल–भारत सीमाक्षेत्र बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग राखी जारी अनशन शुक्रबार २७औं दिन पुग्दासमेत सरकारी पक्षले कुनै वास्ता गरेको छैन । संघर्ष समितिले माग पूरा नभए माइतीघर मण्डलामा अनशन सुरु गरिने चेतावनी दिएको छ।

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठित पुल निर्माण संघर्ष समितिको जिल्ला प्रशासन कार्यालयअगाडि अनशन जारी छ। सो अनशनमा स्थानीयको ऐक्यबद्धता बढ्दै गएको छ । उक्त नाकामा पक्की पुल निर्माणको माग पटकपटक गरे पनि सम्बन्धित निकायले चासो नदेखाएको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए। पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरूको अनशन जारी रहने उनले जानकारी दिए।

सो स्थानमा पक्की पुल निर्माण नहुँदा यो क्षेत्रको समग्र आर्थिक विकासमा बाधा पुगेको भन्दै पुल निर्माणमा जोड दिइएको उनको भनाइ छ। झुलाघाट नाकामा पक्की पुल निर्माण आर्थिक रुपान्तरणका लागि आवश्यक भएकाले आफूहरुले पनि अनसनमा साथ दिएको पाटन नगरपालिकाका प्रवक्ता तथा वडा ९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बताए।

‘झुलाघाट नाका सुदूर पश्चिम प्रदेशको मात्र नभएर राष्ट्रकै अर्थतन्त्रसँग जोडिएको नाका हो,’ उनले भने, ‘यस क्षेत्रमा मोटरेबल पुल बन्नेबित्तिकै सिङ्गो सुदूरपश्चिम प्रदेशसहित राष्ट्रको आर्थिक विकासमा टेवा पुग्छ। बैतडी जिल्लासँग सीमा जोडिएको यो नाकामा पुल निर्माणसँगै यहाँको व्यापारले ठूलो फड्को मार्ने उनको भनाइ छ । अनशनमा भजनकीर्तन, डेउडा गीत गाउँदै सरकारलाई दबाब दिने गरिएको संघर्ष समितिले जनाएको छ ।

Featured