देश

पत्रकार शिवाकोटीको सुरक्षामा गम्भीर बन्न ध्यानाकर्षण

काठमाडौं, असोज १७–नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका सम्पादक एवम् नेपाल पत्रकार महासंघका सदस्य अजयबावु शिवाकोटीलाई समाचारको विषयमा पटकपटक धम्की दिइएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका सचिव प्रकाश थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै पनि समूहबाट व्यावसायिक पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको जनाउँदै यस्ता अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्ति वा समूहमाथि छानबिन गरी कानुनी कारबाहीका लागि राज्यसँग जोडदार माग गरेका छन् ।

महासंघले पत्रकार शिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरकार र सुरक्षा निकायको ध्यानाकर्ष गराउँदै कृष्णबहादुर महरा प्रकरणको विषयमा समाचार ब्रेक गरेका शिवाकोटीको सुरक्षामा आँच आउनु खोजी पत्रकारिताको प्रवर्द्धनमा आघात र्पुयाउने कार्य भएको ठहरसमेत गरेको छ ।

‘पत्रकार शिवाकोटीलाई दिइएको धम्कीप्रति खेद व्यक्त गर्दै महासंघका सचिव थापाले यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई सचेत गर्दछ’, सचिव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई बिहीबार अपरिचित समूहले काठमाडौंको नयाँ बानेश्वरमा दिएको धम्कीप्रति पनि महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ ।’

संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको विषयमा हाम्रा कुरा डट कमले चार दिनअघि समाचार प्रकाशित गरेपछि सभामुख पदबाट महराले मंगलबार राजीनामा दिएका थिए ।

Featured