धनगढी, असोज १७–कैलालीमा सेवाग्राहीबाट घूस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवलदार र जवान रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घूससहित दुई जनालाई पक्राउ गरेको हो ।
अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बीओपी भजनीमा कार्यरत सहायक हवलदार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई घूस रकमसहित पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूलाई भजनी नगरपालिका– १ बाट पक्राउ गरिएको बस्नेतले बताए । दुवै जनाले भारतबाट आउने सामान सहजरूपमा भित्र्याउन सहयोग गर्ने भन्दै सेवाग्राहीबाट घूस लिएको उनले बताए । उनीहरूलाई आज दिउँसो साढे १२ बजेतिर पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस