देश

हेल्प नेपालले विश्व वार्षिकोत्सवको तयारी गर्दै

काठमाडौं, असोज १६–बीस वर्षदेखि परोपकारका क्षेत्रमा सक्रिय संस्था हेल्प नेपाल नेटवर्कले विश्व वार्षिकोत्सव (ग्लोबल समिट) को तयारी गरेको छ। उक्त संस्थाले असोज २५ गते स्थापनाको २० औं विश्व वार्षिकोत्सव काठमाडौंमा मनाउने जानकारी दिएको हो।

अध्यक्ष अरुणसिंह बस्नेतका अनुसार बुधबार आयोजना राजधनीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका दशैंपछि लगत्तै आयोजना हुने ग्लोबल समिटका अवसरमा सामाजिक सेवाका ‘दानवीर र कर्मवीर’ लाई सम्मान समेत गरिने छ। वार्षिकोत्सवमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि काठमाडौं आउने बताइएको छ।

नेटवर्कले स्थापनाकालदेखि नै एक डलर वा एक पाउन्ड उठाएर नेपालमा सहयोग गर्ने अवधारणा बनाएको थियो। अध्यक्ष बस्नेतले विशेषतः शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएरै संस्था स्थापना गरिएको बताए। अध्यक्ष बस्नेतले भने, ‘आफ्नो काम धन्दा गरेर बचेको समय र पैसाले व्यवहारिक परोपकार गर्ने भन्ने हेतुले हामीले हेल्प नेपाल नेटवर्कको स्थापना गरेका थियौँ। हामीले धेरै काम गरेको जस्तो पनि लाग्दैन। तर आज २० वर्ष भइसकेको छ।’

सो संस्थाले वार्षिकोत्सवका अवसरमा समाजसेवी श्रीजङ्ग शाह, आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत र मोफसलमा रही समाजसेवामा क्रियाशील निरादेवी साहलाई सम्मान गर्ने पनि बताइएको छ। निरादेवी साहले जनकपुरमा बेवारिसे बालबालिकालाई आश्रय दिएर हुर्काउने, बढाउने र पढाउने काम गर्दै आएकी छन् भने डा.रुइतले आँखा उपचारमा ख्याति कमाएका छन्। यसैगरी श्रीजङ्ग शाहले आफ्नो अर्बौँको सम्पत्ति अस्पताललाई दान गरेका छन्।

२० वर्षको अवधिमा हेल्प नेपालले विकट ठाउँमा स्कुलका भवनहरू, स्वास्थ्य शिविर, आँखा शिविर, इ–लाइब्रेरी, प्राकृतिक प्रकोप, आगलागी, भूकम्पमा उदाहरणीय काम गरेको छ। संस्थाले भूकम्पपछि ७ वटा स्कुलका भवनहरू समेत बनाइसकेको छ भने दुईवटा ठूला स्कुलका भवन निर्माणधीन अवस्थामा रहेको जनाएको छ। अस्ट्रेलियाबाट आएका हेल्प नेपालका सहयोगीहरू इन्द्रा वन र लक्ष्मण शर्माका अनुसार आफूहरू समाज सेवाका लागि हेल्प नेपालसँग रहेर स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका छन्।

Featured