देश

यसपालि दसैंको दिन पनि फोहोर व्यवस्थापन हुने

काठमाडौं, असोज १६–यस वर्ष दसैंका दिन पनि फोहोर यथावत् उठाइने भएको छ । वातावरण व्यवस्थापन विभागले विगतमा दसैंका समयमा फोहोर व्यवस्थापनको काम रोकिने गरेकामा यस वर्ष नरोकिने जनाएको छ । ‘यस वर्ष दसैंका दिन पनि फोहोर व्यवस्थापन रोकिने छैन,’ विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने ।

यसअघि दसैं र तिहारजस्ता चाडपर्वमा फोहोर व्यवस्थापनका कर्मचारी छुट्टीमा बस्नाले डम्पिङ साइटहरू बन्द हुन्थे । यसपटक भने विभागले डम्पिङ साइट दसैं(तिहारमा पनि खोल्न निर्देशन दिएकाले फोहोर संकलन निरन्तर हुने भएको छ । दसैंको दिन कर्मचारीलाई आलोपालो गरी साँझ र बिहानको समयमा खटाएर फोहोर उठाउने व्यवस्था मिलाएको विभागीय प्रमुख श्रेष्ठले बताए ।

‘संकलित फोहोर ओखरपौवा ल्यान्डफिल्ड साइटमा नै र्पुयाउँछौं,’ उनले भने, ‘यसपालि विगतमा जसरी साइट बन्द हुँदैन, सरसफाइसँगै चाड मनाउने व्यवस्था मिलाएका छौं ।’ यो वर्ष दसैंका दिन ल्यान्डफिल्ड साइटमा फोहोर पुग्ने भएको छ । महानगरवासीलाई फोहोर सकेसम्म कम उत्पादन गरेर सहयोग गर्नसमेत उनले अपिल गरेका छन् ।

दसैँको समयमा खासगरी उद्योग(व्यवसाय, कार्यालय बन्द नै रहन्छन् । ६० प्रतिशत मानिस काठमाडौं बाहिर जाने हुँदा फोहोर उत्पादन स्वतः घट्छ । उपत्यकामै बस्नेले जथाभावी रूपमा फोहोर फालेर अन्य समयको भन्दा बढी फोहोर थुप्रिने उनले दाबी गरे ।

अहिले महानगर, विभाग तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर मानिसहरूको चहलपहल धेरै हुने ठाउँहरू, बजार र मठ–मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन् ।

साइट खुलेमा दसैमा पनि फोहोर उठाउन आफूहरूलाई कुनै समस्या नभएको हुने फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष ध्रुव आचार्य बताउँछन् । ‘साइट चलेन भने मुख्य सडक सरसफाइ गरिन्छ, घरघरमा गएर फोहोर उठाउनचाहिँ सकिँदैन,’ उनले भने, ‘विगतमा फूलपातीदेखि द्वादशीसम्म ल्यान्डफिल्ड साइट बन्द हुँदा हाम्रा कर्मचारीलाई बिदा दिने गरेका थियौं ।’

उपत्यकामा फूलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेसनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । केही निजी तथा गैरसरकारी संघसंस्थाले पनि सहरका विभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

Featured