देश

पोखराबाट लागूऔषधसहित चार जना पक्राउ

पोखरा, असोज १५–पोखराबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र लागूऔषध संघीय ब्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पोखराको लेकसाइडस्थित खहरेमा रहेको होटल कोकनबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पृथ्वीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ इण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पर्सा घर भई हाल पृथ्वीचोक बस्दै आएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकीका २३ वर्षीय रजिया खातुन रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन र अन्दाजी १५० ग्राम लागूऔषधजन्य सुकेको पात बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरु उपर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Featured