देश

बाबुमाथि बलात्कार आरोप लागेपछि महराका छोराद्वारा क्रान्तिको धम्की

काठमाडौं, असोज १५–निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विभिन्न टिकाटिप्पणी आउने क्रम जारी छ । सोमबार मात्रै आफूमाथि सभामुख महराले घरमै मदिरा लिएर आई आफूलाई समेत खुवाएर यौन दुर्व्यवहार गरेको बयान दिएपछि मंगलबार नै उनले पदबाट राजीनामा दिइसकेका छन् ।

महराले राजीनामा दिएलगत्तै ती महिलाले बयान फेरेर आफ्नो घरमा सभामुख महरा नआएको र आफूमाथि महराले कुनै दुर्व्यवहार नगरेको बयान दिएकी छिन् । त्यसपछि महरा र आरोप लगाउने महिला रोशनी शाही दुवैको आलोचना सुरु भएको छ । कतिपयले ‘हाइ प्रोफाइल’ यौन काण्ड’ लाई चलखेल गरी सामसुम पार्न खोजिएको टिप्पणी गरेका छन् भने कतिपयले महिलाको बयानमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

महिलाले महरा आफ्ना बाबु समान भएको भन्दै त्यस्तो कल्पनासमेत गर्न नसकिने बताएकी छन् । निवर्तमान सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सत्तारुढ नेकपाभित्रै दुई धार देखिएको छ । कतिपयले महराप्रति नरम दृष्टिकोण राखेको पाइएको छ भने कतिपयले महरालाई सभामुख र सांसद दुवै पदबाट हटाउनुपर्ने बताएका छन् । यसै सन्दर्भमा लामो समयदेखि पार्टीमा नै क्रियाशील रहेका उनका छोरा निर्मल महराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ बाटोमा जानुपर्ने भन्दै सत्तारुढ नेकपाभन्दा अलग बाटो पनि हुनसक्ने संकेत गरेका छन् ।

उनले समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको उल्लेख गरेका महरापुत्र निर्मलले नयाँ बाटो भनेको के हो भन्नेचाँहि स्पष्ट पारेका छैनन् । राजनीतिमा जनताको पक्षमा पक्षमा अपुर्व त्याग गरेको उल्लेख गर्दै उनले अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यो राजनीति भित्रको खेल रहेछ, आज व्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने र मिडिया मार्फत सहयोग र्पुयाई षड्यन्त्रको भणडाफोर गर्न सहयोग र्पुयाउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्षी दलका मित्रहरू चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।’

उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै बुख्याचाहरू खडा गरी क्रान्तिकारी नेताहरूको इतिहास समाप्त पार्ने विदेशी शक्ति र नेपाली दलालहरूको चलखेल देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ । शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ, क्रान्तकारीहरूसँग फेरि भेट हुनेछ ।’

Featured