देश

प्रहरी नियन्त्रणबाट निस्केलगत्तै झण्डै साढे १० लाख रुपैयाँ ठगेर एक जना फरार

धनगढी, असोज १५–धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित पक्राउ परेका सञ्जय रानालाई छुटाइदिने प्रलोभन दिएर १० लाख ३५ हजार रुपैयाँ लिई एक जना फरार भएका छन् । बझाङ घर भई हाल धनगढी उपमहानगरपालिका– ३ बस्ने २० वर्षीय विजय सिंह फरार भएका हुन् । उनले सञ्जय रानालाई छुटाइदिन्छु भन्दै रानाकी श्रीमतीबाट १० लाख ३५ हजार रुपैयाँ लिएर फरार भएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा विजयलाई धनगढीस्थित होटल फ्लोराबाट प्रहरीले भदौ १५ मा नियन्त्रणमा लिएको थियो ।

कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले भने, ‘ऊ लागूऔषध दुव्र्यसन पनि रै’छ । शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना पाएपछि हामीले उसलाई नियन्त्रणमा लियौं । सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याएपछि उसले सञ्जय रानाको बारेमा सबै कुरा थाहा पाएछ ।’ भदौ १५ गते फ्लोरा होटलबाट पक्राउ परेका विजय असोज ६ गते छुटेका थिए । ‘ऊ छुटेपछि उसले सञ्जय रानाको घरमै गएर सञ्जयलाई छुटाइदिन्छु भनेर पैसा लिएर फरार भएछ,’ प्रहरी उपरीक्षक बस्नेतले भने, ‘रानाकी पत्नीले सिंहलाई पैसा दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।’

छुटाइदिने प्रलोभन दिएर रकम लिएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी उपरीक्षक बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए । धनगढी–३, चटकपुरबाट प्रहरीले पेस्तोल र सुनका गरगहनासहित धनगढी उपमहानगरपालिका–६, मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, सोही ठाउँका कमल बिक र वडा नम्बर–३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Featured