देश

जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन विधि सिकाउँदै राष्ट्र निर्माण मञ्च

भक्तपुर, असोज १४–स्थानीय सरकार सञ्चालन विधि तथा विकास निर्माणका वातावरणीय प्रभाव मूल्यांकनमा कसरी थप सहजीकरण गर्न सकिन्छ भनी स्थानीय निकायका प्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा मकवानपुरको गढिमाई गाउँपालिकाका जनप्रतिनिधिहरूलाई त्यस्तो तालिम दिइएको हो ।

स्थानीय सरकार सञ्चालन विधि तथा पुनर्निर्माणमा कसरी थप सहजीकरण गर्ने, साथै विकास निर्माण गर्दा वातावरणमा पर्ने प्रभावको विषयमा तीनदिने आवासीय क्षमता अभिवृद्धि तालिम दिइएको छ । तालिममा जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनमा आइपरेका विभिन्न समस्या तथा भविष्यमा आइपर्ने समस्याहरू कसरी समाधान गर्ने, भूकम्पपछिको पुनर्निर्माणमा आएका समस्या तथा उक्त समस्याहरूको समाधान कसरी गर्न सकिन्छ, विकास निर्माण गर्दा वातावरणको संरक्षण कसरी गर्ने, हाल विद्यमान जथाभावी डोजर आतंकका कारण भएको क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ ।

आयोजकका अनुसार जनप्रतिनिधिहरूलाई पुनर्निर्माणसम्बन्धी नीतिगत व्यवस्था र यससम्बन्धी कानूनी व्यवस्थाबारे बुझाउंदै भूकम्पपीडितलाई सेवा प्रवाहमा सहजीकरण वातावरणीय प्रभाव मूल्यांकनमा सहज होस् भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । तालिममा स्थानिय निकायको अधिकार क्षेत्रभित्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया, न्याय निरुपणजस्ता विषयमा पनि विषयविज्ञ व्यक्तित्वहरूले प्रशिक्षण दिएका थिए । यस्तै, नयाँ बनेका कानुन तथा ती कानुनमा भएका विभिन्न उल्झनलाई जनप्रतिनिधिहरूले कसरी सर्वसाधारणमा सहजीकरण गर्न सकिन्छ भनी विभिन्न विषय विज्ञहरूले जानकारी दिएका थिए ।

कार्यक्रममा राष्ट्र निर्माण मन्च नेपालका कार्यक्रम संयोजक अधिवक्ता सुमन न्यौपानेले स्थानीय जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गरी जनताको सेवा प्रवाहलाई सरल र सहज बनाई जनताको न्यायमा पहँुच स्थापित गर्ने उद्देश्यका साथ स्थानीय सरकारलाई तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरूलगायतका स्थानीय निकायसँग सम्बन्धितहरूको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष विदुर हुमगाइले गरेका थिए । स्थानीय निकायमा भएका विभिन्न उल्झनलाई कसरी समाधान गर्न सकिन्छ भनी आफूहरुले धेरै ज्ञान बटुल्न सफल भएको उनले बताए ।

Featured