देश

गण्डकी प्रदेशले पहिलो पटक गर्यो बजार अनुगमन

पोखरा, असोज १३–गण्डकी प्रदेश सरकारको मातहतको ‘गण्डकी प्रदेश बजार अनुगमन टोली’ले गठन भएको डेढ वर्षपछि बजार अनुगमन थालेको छ । प्रदेश स्थापना भएको झण्डै १९ महिना पछि बनेको टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो ।

प्रदेश सरकारले बजार अनुगमन निर्दे्शिका पास गरेपछि समिति बनाएर अनुगमन शुरु गरिएको उद्योग वाणिज्य उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिए । टोलीलाई गण्डकी प्रदेश अन्तर्गतका खाद्य, लत्ताकपडा, उद्योगलगायत पसलमा अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने अधिकार छ ।

टोलीले पोखरा क्षेत्रमा गरेको अनुगमनका क्रममा पलसमा मूल्य सूची नराखेको, लेबलिङ नभएका, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीमा राखेको फेला पारेको छ । अनुगमनका क्रममा फेला पारेका ती सामग्री जफत गरी नस्ट गरिएको निर्देशक पौडेलले बताए ।

उनकाअनुसार, पोखरा क्षेत्रका विभिन्न ब्राण्डका ८ वटा पसलसहित एउटा उद्योगमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पोखराको सिम्पानीमा रहेको सन्तोष दालमोट उद्योगले सरसफाइमा लापरवाही गरेको भेटेपछि १५ दिनका लागि उद्योगलाई उत्पादन गर्न रोक लगाइएको छ ।

टोलीले उद्योगलाई दुई साताभित्र आवश्यक सरसफाइ र पूर्वाधार निर्माण गर्न निर्देशन दिएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उनले प्रदेश सरकारबाटै अनुगमन शुरु गरेकोमा खुसी व्यक्त गरे । ‘प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरी अनुगमन शुरु गरेको छ,’ उनले भने, ‘अब अनुगमनले निरन्तरता पाउनुपर्छ ।’

गण्डकी प्रदेश बजार अनुगमन टोलीमा उद्योग वाणिज्य उपभोक्ता हित निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलसहित सदस्य सचिव भरतमणि बराल, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोख्रेल, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघु पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक पोषण थापा, पोखरा महानगरपालिकाका प्रतिनिधिलगायत थिए ।

Featured