खेलकुद देश

नेपालमा दक्षिण एसियाली उसु निर्णायकको सेमिनार सम्पन्न

काठमाडौं, असोज १३–दक्षिण एसियाली उसु निर्णायकहरूका लागि चारदिने सेमिनार नेपालमा सम्पन्न भएको छ । बंगलादेशका १०, पाकिस्तानका ७, श्रीलंकका १२ र माल्दिभ्सका ४ गरी ३२ जना र नेपालका ३० जना उसुका निर्णायक सेमिनारमा सहभागी थिए ।

नेपाल जुडो संघ र साउथ एसियन उसु फेडेरेसनले आयोजना गरेको तेस्रो दक्षिण एसियाली उसु निर्णायक सेमिनारमा उसु खेलका जजका लागि तालीम दिइएको थियो । सेमिनारको समापन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले सेमिनारले नेपालमा हुन लागेको दक्षिण एसियाली खेलमा उसुले नेपाललाई सफलता दिलाउने विश्वास व्यक्त गरे ।

सिलवालले एसियन गेम र वल्र्ड कपमा समेत नेपालले उसुबाट राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्दै भिक्षुहरुले चाइनाबाट सुरू गरेको उसु मार्शल आर्ट मात्र नभएर शान्तिको संचार गर्ने र शान्ति प्रक्रियालाई सहयोग गर्ने खेल भएको बताए । खेलले भारत र पाकिस्तानजस्ता मुलुकबीच राजनीतिक क्षेत्रमा असल सम्बन्ध नभए पनि एकता र मिलापलाई प्राथमिकता दिएको बताए ।

चारदिने प्रशिक्षणमा दक्षिण एसियाली उसु महासंघका महासचिव मनि धर्मकीर्ति, प्रशिक्षक पु नाई पिङ र हु काईले प्रशिक्षण दिएको नेपाल उसु संघका महासचिव लाक्पा छिरिङ लामाले जनाए । सेमिनारमा सहभागी निर्णायकलाई नेपाल राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सिलवाल र ओलम्पिक कमिटीका महासचिव नरेन्द्रराज श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए ।

उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले आगामी दक्षिण एसियाली खेलकुदमा नेपालले उसुमा १० देखि १२ वटासम्म स्वर्ण पदक जित्ने दाबी गरे । बौद्धको रामहिटीस्थित एक होटलमा भएको सेमिनारले उसुमा नेपाली निर्णायकलाई दक्ष बनाएको अध्यक्ष वीरबहादुर तामाङले जनाए ।

Featured