देश

शौच गर्न झाडी र होटलका चर्पी खोज्नुपर्ने बाध्यता

काठमाडौं, असोज १३–बझाङको बित्थडचिर गाउँपालिकाका कमल थापा सरकारी कामले सोमबार दिउँसो धनगढी पुगे । धनगढी बसपार्कमा झर्ने्बित्तिकै शौचालयको खोजीमा उनी भौंतारिए । बसपार्कछेउमै सार्वजनिक शौचालय देखेपछि उनी हतारिँदै शौचालयतर्फ अघि बढे । तर, सार्वजनिक शौचालयको ढोकामा ताल्चा लगाइएको थियो ।

छेउमा एउटा खुला शौचालय थियो । तर दुर्गन्धनले त्यहाँ छिरिसक्नु थिएन । शौचका कारण उनी निकै आपतमा थिए । त्यसैले उनले एउटा होटलमा पैसा तिरेर शौचालय प्रयोग गरे । सोमबार मात्रै नेपाल दक्षिण एसियामै पहिलो खुला दिशामुक्त राष्ट्र घोषित भएको छ । तर, प्रमुख भनिएका शहरमै सार्वजनिक शौचालय व्यवस्थित छैनन् ।नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषित भयो भन्ने सुनेपछि अचम्म मान्दै कमल थापाले भने, ‘धनगढीजस्तो शहरमा शौच गर्न यति दुःख झेल्नुर्पयो । गाउँतिरको हालत उस्तै विकराल छ । हचुवाको भरमा खुला दिसामुक्त गरेर हुन्छ ?’

कमल थापा त एक प्रतिनिधि पात्र मात्र हुन् । धनगढी बसपार्कमा हजारौं यात्रु यस्तै समस्यामा पर्ने गरेका छन् । बसपार्कमा सार्वजनिक शौचालय त छन् । तर, प्रयोग गर्ने हालतमा छैनन् । दिनहुँ हजारौंको चहलपहल हुने धनगढी बसपार्कमा रहेको शौचालय प्रयोगमा आउनु त टाढाको कुरा हो, दुगन्धनले त्यसको छेउछाउ जान सकिँदैन । धनगढीमा सार्वजनिक शौचालय निर्माण नै नगरिएको होइन । १० भन्दा बढी ठाउँमा सार्वजनिक शौचालय छन् । तर, एउटा पनि प्रयोगमा छैनन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमै सहज तरिकाले सार्वजनिक शौचालय जाने वातावरण नपाएको यात्रुहरूको गुनासो छ । दसैंका लागि काठमाडौंबाट घर फर्केका कैलाली धनगढीका हरिस भट्टले यात्राको क्रममा सार्वजनिक शौचालय नहुँदा निकै समस्या परेका बताए । ‘प्रदेश राजधानी रहेको जिल्ला कैलालीकै कुरा गर्ने हो भने पनि कैलाली जिल्ला प्रवेशद्वार कर्णाली चिसापानीदेखि अत्तरिया हुँदै धनगढी पुग्दासम्म करिब ५ ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गरिएको छ । तर, ती प्रयोग गर्न लायक नहुँदा यात्रुहरू सडकछेउका झाडीमा पस्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश खुला दिसामुक्त प्रदेश घोषित भइसकेको छ । तर, यहाँको करिब आधा जनसंख्या शौचालयको पहुँचबाहिर छ । कैलालीका हलिया, कमैयालगायतका घरमा शौचालय छैनन् । न्यूनतम मापदण्ड नै पूरा नभएको अवस्थामा प्रदेशका धेरै जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गरिएको वरिष्ठ पत्रकार त्रिचाङ्क थापाको भनाइ छ । ‘राष्ट्रिय लक्ष्य पूरा गर्ने हतारोमा कतिपय जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ,’ उनले भने, ‘भारतलगायतका दक्षिण एसियाली मुलुक अभियानमै छन् । नेपालले मापदण्ड पूरा गरेको छ भने यो खुशीको कुरा हो । तर व्यवहारतः अझै खुला दिसामुक्त भएको भन्न सकिँदैन ।’

Featured