देश

उपत्यकाको दसैं सुरक्षामा साढे ६ हजार प्रहरी परिचालन

काठमाडौं, असोज १३–प्रहरीले दसैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी उपत्यकामा विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीले चाडबाडमा हुनसक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि भन्दै विशेष सुरक्षा योजना लागू गरेको हो ।

जनशक्तिको प्रभावकारी परिचालन, सुरक्षित र भयरहित वातावरण तथा सम्भाव्य अपराधको न्यूनीकरण गर्न विभिन्न युटिनका प्रहरी परिचाल भइसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । सुरक्षाका लागि सादा पोसाकका प्रहरी बढी हुने ज्ञवालीले बताए ।

यस्तो छ, उपत्यकाको सुरक्षा योजना
प्रहरीले चाडबाडमा सुरक्षा व्यवस्था मजबुद बनाउन सुरक्षाकर्मीको प्रभावकारी परिचालन, शीघ्र सेवा, सहज पहुँचको व्यवस्था मिलाएको जनाएको छ । यस्तै दसैं मनाउन उपत्यका छाडेर टाँढा जानुपर्नेहरुलाई आफ्नो घर छोडेको कुरा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ ।

चाडबाडको समयमा ठगी, चोरी, लुटपाट, डकैती, पाकेटमारी, जुवातास, अवैध मदिरा बिक्रीवितरण, तस्करीजस्ता घटना हुनसक्ने भन्दै किनमेल हुने र बढी भीडभाड हुने क्षेत्र र बैंक तथा वित्तिय संस्थाहरुमा एरिया विभाजन गरी विभिन्न गस्ती टोली पठाउने उनले बताए । प्रहरीको पैदल गस्ति, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोटर गस्ती टोली, सूचना संकलन गस्ती, एम्बुसिङ र निगरानी र उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहितको जाँच टोली राखिने भएको छ ।

Featured