देश शिक्षा

गैँडाकोटका सबै विद्यालयमा एउटै पोसाक हुने

नवलपुर, असोज १२–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोसाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिक सत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोसाकमा एकरुपता ल्याउने निर्णय गरेको हो ।

गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोसाक हुनुपर्ने भन्दै सबै विद्यालयलाई परिपत्र गरेको छ । हामी सबै समान छौँ भन्ने भावनाको विकास गराउन विद्यालय पोसाकमा एकरुपता ल्याउन लागिएको गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले बताइन् ।

सबै विद्यालयको पाठ्यक्रम एउटै भएपछि पोसाकसमेत एउटै हुनुपर्छ भन्ने आधारमा विद्यालको पोसाकमा एकरुपता ल्याउन लागिएको नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले बताए । शिक्षा शाखा प्रमुख चापागाईंका अनुसार विद्यार्थीको सर्ट नीलो रङको, पाइन्ट(स्कर्ट र खरानी रङको कोट, रिबन रातो, जुत्ता कालो तथा मोजा नीलो हुनुपर्नेछ । मंगलबार र शुक्रबार भने विद्यालयले आफ्नो तरिकाले पोसाक निर्धारण गर्न पाउनेछन् ।

त्यसैगरी विद्यालयको भवन र सवारी साधनको रङमा समेत एकरुपता ल्याउनका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ बाट विद्यालय भवनको बाहिरी रङ पहेँलो, छानो रातो, झ्याल सेतो वा खैरो, भवनको भित्री कोठा हस्तीहाड रङको बनाउन संस्थागत र सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै विद्यालय ओसार्न प्रयोग हुने सवारी साधनको रङसमेत पहेँलो बनाउन निर्देशन दिइएको चापागाईंले बताए । सामुदायिक विद्यालयको रङरोगनका लागि भने गैँडाकोट नगरपालिकाले केही रकम प्रदान गर्ने भएको छ । माध्यमिक तहसम्म सञ्चालन भएको सामुदायिक विद्यालयलाई ७५ हजार रूपैयाँ, आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयलाई ५० हजार रूपैयाँ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालन भएको विद्यालयलाई ३५ हजार रूपैयाँ उपलब्ध गराइने चापागाईंले बताए ।

विद्यालयको रङ देखेपछि शैक्षिक संस्थाको नजिकमा पुगेको बोध होस् भनेर नगर क्षेत्रका सबै विद्यालयलाई एकै प्रकारको रङ लगाउन निर्देशन दिइएको चापागाईंले बताए । उनका अनुसार गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक तथा २० वटा संस्थागत विद्यालय छन् । यहाँका विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत छन् । (रासस)

Featured