देश

शैक्षिक संस्थाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद थपियोस्ः प्याब्सन

काठमाडौं, असोज १२–निजी तथा आवासीय विद्यालयहरूको संस्था (प्याब्सन) ले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय थप गरिदिन आग्रह गरेको छ । अहिले दिइएको समय कम भएको भन्दै प्याब्सनले आगामी शैक्षिक सत्रदेखि मात्रै आवद्ध हुन पाउने व्यवस्था गर्न माग गरेको हो । प्याब्सनले सामाजिक सुरक्षा कोषको सन्दर्भमा आफूहरूको चासोका विषय भन्दै यस्तो आग्रह गरेको हो । उसले ५ बुँदामा आफ्नो चासो समेटेको छ ।

‘वि.सं. २०७६ कात्तिक मसान्तभित्र सामाजिक सुरक्षा कोषमा शैक्षिक प्रतिष्ठानहरू सूचिकृत हुने र आगामी शैक्षिक सत्र २०७७ देखि मात्र सामाजिक सुरक्षा कोषमा योगदान दाखिला गर्ने गरी समयावधि तोक्ने,’ प्याब्सनले उल्लेख गरेको छ । यस्तै शैक्षिक प्रतिष्ठानहरूमा कार्यरत शिक्षक–कर्मचारीको न्यूनतम आधार तलब ८ हजार ४ सय ५५ रुपैयाँ हुने व्यवस्था गर्ने, सो आधार तलबअनुसार सामाजिक सुरक्षा कोषको व्यवस्थापन गर्न नसक्ने विद्यालयहरुको हकमा अध्ययन गरी उपयुक्त कार्य्विधि तय गर्न सरोकारवालाहरूसहितको सहभागितामा कार्यदल गठन गर्नुपर्ने पनि प्याब्सनको धारणा छ ।

आधार तलबभन्दा बढी सुविधा उपलब्ध गराएका विद्यालयहरुको हकमा श्रम नियमावलीको नियम नम्बर ७७.३ अनुसार नै हुने व्यवस्था गर्नुपर्ने पनि प्याब्सनको भनाइ छ । यस्तै, श्रम ऐन २०७४ ले शैक्षिक प्रतिष्ठानहरुलाई श्रम मन्त्रालयकै मातहतमा रहने स्पष्ट व्यवस्था गरेकोले शैक्षिक प्रतिष्ठानहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुको सेवा सुविधासमेत श्रम ऐनअनुसार नै लागू हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने प्याब्सनको भनाइ छ ।

Featured