देश

तनहुँमा कांग्रेस नेता रिजाललाई नेकपाको अवरोध

काठमाडौं, असोज १२–नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजाललाई तनहुँको रिसिङ गाँउपालिका भवन उद्घाटन गर्न जाँदै गर्दा सत्तारुढ नेकपाका कार्यकर्ताले अवरोध गरेका छन् । नेकपाका कार्यकर्ताले आइतबार तनहुँको रिसिङ गएका रिजाललाई मण्डले शैलीमा अवरोध गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उद्घाटनका लागि कांग्रेस नेता तथा पूर्वमन्त्री डा. रिजालबाट गराउने निर्णय भएको थियो ।

नेता डा. रिजाल रिसिङ जाने विषयमा प्रहरी प्रशासनलाई जानकारी हुँदा पनि नेकपा कार्यकर्ताहरूले तनहुँ सदरमुकाम दमौलीबाट रिसिङ गाउँपालिका जाने बाटो भत्काएर अवरोध गरेका छन् । तनहुँमा रहेका कांग्रेस नेता डा. रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने, प्रहरीले बाटो अवरोध गर्ने कार्यकर्तालाई उतार्ने, कस्तो शैली भनेर प्रश्न गरे ।

नेता पौडेलले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौं जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले मण्डले शैलीमा कांग्रेस नेता डा. रिजाललाई अवरोध गरेकोमा कडा आपत्ति जनाए । उनले नेकपाका कार्यकर्ताले एक्कासि मण्डले शैलीबाट बाटो अवरोध गरी कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेको जनाएका छन् । उनले पञ्चायतका मण्डलेहरूको शैली अनुसरण गर्दै नेकपाका नेता कार्यकर्ता फासिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको भन्दै पौडेलले सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्न थालेको बताए ।

Featured