देश

त्रुटि भएको भन्दै एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा पुनः प्रकाशित

काठमाडौं, असोज ११–काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । ६ असोजमा प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २ सय ५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा. रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए ।

विश्वविद्यालयले पुनःप्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा गत ६ असोजमा सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करिब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७ सय ५६ विद्यार्थी उत्तीर्ण भएका थिए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले ३ असोजमा र काठमाडौं विश्वविद्यालयले ४ असोजमा परीक्षा सञ्चालन गरेका थिए ।

त्रिविअन्तर्गतका कजेजमा चार हजार २ सय ६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४ सय ८७ विद्यार्थी उत्तीर्ण भएका थिए । ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ । २८ असोज २०७५ मा मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार रूपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क छ ।

Featured