देश

कृषि विकास बैंक चोरी प्रकरण : पर्वतबाट एक महिला पक्राउ

पोखरा, असोज ११–कृषि विकास बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गरेको प्रकरणमा पर्वतको हुवासबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ३१ वर्षीया मालतीदेवी न्यौपाने भट्टराईलाई पक्रेको हो । भट्टराईलाई केन्द्रीय अपराध अनुसन्धान विभाग (सीआइबी)को अनुरोधमा पक्राउ गरि शनिबार काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलय पर्वतका डीएसपी स्यामु अर्यालले बताए । ‘सीआइबीको आग्रहमा आवश्यक अनुसन्धानका लागि मालतीदेवी न्यौपानेलाई पक्राउ गरी काठामाडौं पठाएका छौं,’ उनले भने ।

प्रहरीले उनलाई माती घर पैंयु गाउँपालिका–४ हुवासबाट नियन्त्रण लिएको जनाएको छ । ह्याकर समूहले मालतीदेवीको कृषि विकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैयाँ ट्रान्सफर गरेको देखिएपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ । आफन्तले विदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको मालतीदेवीले प्रहरीमा बयान दिएकी छन् । ‘आफन्तले मेरो खातामा पैसा आएन तपाईंको खाता नम्बर दिनुस् भनेर मागेपछि मैले बैंक खाता नम्बर उपलब्ध गराएको हो,’ मालतीदेवीले बयानमा भनेकी छन् ।

खातासँगै दुइटा खाली चेक दिएको पनि स्विकारेको प्रहरीले जनाएको छ । बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा यसअघि छिमेकी जिल्ला स्याङजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्राउ गरेको छ । योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १३ जनालाई बुधबार सार्वजनिक गरेको थियो । घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका ’काले’ भनिने पिटर भने फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।

Featured