विराटनगर, असार १०–निर्वाचनमा जनतामाझ गरेका प्रतिवद्धता अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रको पुर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका छन् । उनले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तराई मधेश समृद्धि कार्यक्रम मार्फत पूर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका हुन् ।
उनकै पहलमा मोरङको निर्वाचन क्षेत्र नं. ६ स्थित पुष्पलालचोक–गछिया सडक पनि कालोपत्रे हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ग्रामिण सडक सञ्जाल अन्तर्गत २३.७ किलोमिटर पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुने भएको छ । सो कालोपत्रे सडकको असोज १२ गते आइतबार मन्त्री पण्डितले शिलान्यास गर्ने भएका छन् ।
जनप्रतिनिधिहरु, सवै दल तथा कार्यकता, एवम् स्थानीय जनताको बाक्लो उपस्थितीमा सडक शिलान्यान गरिन लागेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ का सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । बुढीगंगा गाउँपालिका–६ कोयलपुरलाई केन्द्र मानेर गरिने सडक शिलान्यास कार्यक्रमलाई भब्य बनाउन सर्वदलीय बैठक समेत सम्पन्न भएको छ ।
सो बैठकले सडकबाट क्षेत्र नं. ६ अन्तर्गत बुढीगंगा गाउँपालिका र शुन्दर हरैँचा नगरपालिकाका स्थानीय आदीवासी, जनजाती, थारु, मधेशीलगायत सवै जनता लाभान्वित हुने भएकाले तोकिएकै समयमा निर्माण सम्पन्न गराउन सहयोग गर्ने निर्णय गरेको नेता चौधरीले बताए । उनले विगत २५ वर्षदेखी सो निर्वाचन क्षेत्रबाट विजयी सांसदहरुले आवश्वासन मात्र दिँदै आएपनि मन्त्री पण्डितले जनता माझ गरेको बाचा अनुरुप काम गरेको दावी गरे । सो सडक निर्माण भएपछी जनतालाई ठुलो राहत हुनेछ ।
सडक निर्माणले स्थानीय बजार व्यवस्थापन र कृषि उत्पादनले सहज बजार पाउने नेता चौधरीको भनाइ छ । उक्त सडक निर्माणले प्रदेश राजधानी र विराटनगर महानगरपालिकासँग सहज पहुँच स्थापित समेत गर्ने उनले बताए । सो सडक २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ५२ करोड २४ लाख रुपैयाँमा लुम्बिनी सञ्जीवनी जेभिले ठेक्का लिएको छ ।
प्रतिक्रिया दिनुहोस