देश

७० वर्षमाथिका विपन्न नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं, असोज १०–वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडमा ५० प्रतिशत छुट निर्णय गरेको छ । आयोनको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भदौ १० गते गरेको निर्णयअनुसार जेष्ठ नागरिकप्रति उच्च सम्मान गर्दै यो निर्णय गरिएको आयोनले जनाएको छ । छुट सुविधा पाउन ७० वर्षमाथिका विपन्न जेष्ठ नागरिकले सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा आई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्नेछ ।

छुट सुविधा अपर लिमिटको हवाई भाडादरमा मात्र लागू हुनेछ । टंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउनेछन् । स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीले प्रतिदिन प्रतिसेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउनेछन् । छुट सुविधा घटस्थापनादेखि लागू हुनेछ ।

Featured