धरान, असोज १०–धरान(९ गौतमपथस्थित विमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरिद गर्न गएका पूजन लिम्बुलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बु धरान(१९ का वडाध्यक्ष पूर्ण लिम्बुका छोरा हुन् । लिम्बूलाई बिहीबार साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरिरहेका बखत धरान(९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैंचीले निज पूजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनालगत्तै फरार रहेका मियाँलाई शुक्रबार धरान(२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए । घाइते पूजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस