देश

नेकपाले मार्क्सवाद लेनिनवाद छोडेको छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, असोज ९–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफू सी जिङपिङ पथतिर नगएको बताएको छ । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाले मार्क्सवाद लेनिनवाद नत्यागेको बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै बाँस्कोटाले नेकपाको जीवनदर्शन मार्क्सवाद र लेनिनवाद रहेको बताए । ‘नेकपा नेपाली जनताको पथतिर लाग्छ,’ बाँस्कोटाले भने ।

अन्य देशका क्रान्ति र परिवर्तनबाट शिक्षा लिन सकिने बताउँदै उनले भने, ‘कुनैपनि देशको क्रान्ति वा परिवर्तन त्यस देशका जनताद्वारा निर्दे्शित हुन्छ । नेकपाले जुनसुकै देशका परिवर्तन र क्रान्तिबाट शिक्षा लिन सक्छ् । उनीहरूको अनुभव साट्न सक्छ । तर, क्रान्ति र परिवर्तनका सबैका आ–आफ्नै मोडल हुन्छन् ।’ क्रान्ति निर्यात हुने विषय नभएको तर्क गर्दै बाँस्कोटाले भने, ‘नेकपा मार्क्सवाद लेनिनवादमा विश्वास गर्छ । सबैलाई थाहा छ । यो उसको जीवनपथ हो ।’

आफ्नो पार्टीले विचार मिल्ने संसारका जुनसुकै पार्टीसँग विचार आदानप्रदान गर्न सक्ने बताउँदै बाँस्कोटाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको विचार आदानप्रदान कार्यक्रमलाई ठूलो मुद्दा नबनाउनसमेत आग्रह गरे ।

Featured