देश

पोखरामा दैनिक १ अर्ब २० करोडबराबरको नयाँ नोट वितरण सुरू

पोखरा, असोज ९–नेपाल राष्ट्र बैंक पोखराले दसैंको अवसरमा पोखरा क्षेत्रमा दैनिक १ अर्ब २० करोड रुपैयाँबराबरको खुद्रा नयाँ नोट वितरण थालेको छ । राष्ट्र बैंकले बुधबारबाट बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको हो । पोखरामा रहेको राष्ट्र बैंकले समग्र गण्डकी प्रदेशको वित्तीय कारोबार हेर्दै आएको छ । यस अवधिमा राष्ट्र बैंकले गण्डकी प्रदेशमा ११ अर्ब रुपैयाँको नयाँ नोट वितरण गर्नेछ ।

गण्डकी प्रदेशमा बुधबारदेखि नोट कोश भएका बैंकका शाखा र अन्य बैंकहरूलाई नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र बैंक पोखरा शाखाका सूचना अधिकृत रामकुमार कार्कीले जानकारी दिए । ‘पहिलो चरणअन्तर्गत बुधबारबाट नयाँ नोटहरू वितरण गरेका छौं’ उनले भने,’ ‘सर्वसाधारणका लागि शुक्रबारदेखि घटस्थापनाको अघिल्लो दिनसम्म वितरण गर्छौं ।’

राष्ट्र बैंकले विगत लामो समयदेखि दसैंको अवसरमा नयाँ खुद्रा नोटहरू बजारमा पठाउने गरेको छ । यस अवधिमा राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र १ हजारका नयाँ नोट वितरण गर्नेछ । राष्ट्र बैंक पोखरा शाखाका सूचना अधिकारी कार्कीका अनुसार नयाँ नोटहरू राष्ट्र बैंकले तीन प्रक्रियाबाट वितरण गर्ने गरेको छ । राष्ट्र बैंकले सिधै सर्वसाधारणलाई वितरण गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत वितरण गरिने र नोट कोष संचालन भएका जिल्लाका बैंकहरूबाट वितरण गरिने छ ।

राष्ट्र बैंकले यस अवधिमा सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सयका दरले ३ अर्ब, विभिन्न बैंकहरूमार्फत ३ अर्ब, नोटकोशमार्फत ३ अर्ब, सहकारी तथा लधुवित्तहरूमार्फत डेढ अर्ब र अन्य विभिन्न सरोकारवाला निकायको सिफारिशमा ५० करोड वितरण गर्नेछ ।

Featured