देश

विद्युत् सेवा अवरुद्ध भएपछि बस्तीमा अन्धकार

रुकुम, असोज ९–भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जंगाधाराखा र खाबाङ बस्तीका ५ सय घरधुरी अन्धकारमा छन् ।

विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक क्रियाकलापमा साह्रै अप्ठ्यारो भइरहेको स्थानीयवासी विनपुरा मगरले बताए । दसैंको मुखमा आएर विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी चिन्तित छन् ।

शनिबार राति विद्युतको पाइप फुटेर पानी उपकरणमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् समितिका सचिव पृथ्वीबहादुर बुढामगरले बताए । उपकरणमा आएको समस्या पहिचान गर्न बोलाइएका प्राविधिकको सल्लाहअनुसार मर्मत गरिने उनको भनाइ छ ।

वैकल्पिक ऊर्जाको १ करोड १४ लाख ७५ हजार रूपैयाँ सहयोग, स्थानीयवासीको बजेटभन्दा दोब्बर जनश्रमदान र प्रतिघर ५(५ हजार रूपैयाँ लगानीमा ४५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो । विसं २०७२ असार २६ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त आयोजनाले अहिलेसम्म भुमे गाउँपालिका(२ लाई झिलिमिली बनाएको थियो । (रासस)

Featured