देश

करेन्ट लागेर १ को मृत्यु, खोलामा खसेर १ जना बेपत्ता

म्याग्दी, असोज ९–म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका(५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका(४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए । बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो ।

यसैबीच, निलगिरि र रेलेखोलाको दोभानको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका(५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका छन् । मिस्त्रीखोलामा काठको फड्के हालेर जंगलतर्फ जाने क्रममा खोलामा खसेर गर्बुजा बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले जानकारी दिए ।

खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्दार गरिएको छ । बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन । उनको खोजी जारी छ ।(रासस)

Featured