देश

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति

काठमाडौं, असोज ८–मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै बैंकको सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा संख्या थपिएर मुलुककै ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने बैंकका अध्यक्ष शाहले बताए । गण्डकी विकास बैंकको सेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य तत्काल अघि बढाइने उनले बताए ।

असार मसान्त २०७६ को तथ्यांकअनुसार दुवै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा लगानीको आकार ९८ अर्ब रुपैयाँ रहेको र हालको शाखा संख्या १ सय ९१ पुगेको छ ।

Featured