देश

नागरिक उड्डयन प्राधिकरणको व्यापारिक भवन जीर्ण बन्दै

पोखरा, असोज ८–नागरिक उड्डयन प्राधिकरण पोखराले व्यापारिक प्रयोजनका लागि निर्माण गरेको भवन लामो समयदेखि बेवारिसे बनेको छ । प्राधिकरणले २०७३ सालमा पोखरा महानगरपालिका– १७, मुस्ताङमा करिब ६ करोडको लागतमा निर्माण गरेको व्यावसायिक भवन लामो समयदेखि बेवारिसे बनेको हो ।

४ वर्षपहिले निर्माण सम्पन्न भएको उक्त पाँचतले भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने उद्देश्यले निर्माण गरिएको प्राधिकरण जनाएको छ । नियमित आम्दानी गर्ने उद्देश्यले ठूलो रकम खर्चेर बनाइएको भवन लामो समयदेखि पूरै खाली र जीर्ण अवस्थामा पुगेको छ ।

भवनका कुनै पनि सटर, हल र कोठाहरू अहिलेसम्म भाडामा गएका छैनन् । भवनका झ्यालका सिसाहरू ठाउँठाउँमा फुटेका छन् । भवनमा रहेका सटर र च्यानल गेट खिया लागेर जीर्ण अवस्थामा पुगेका छन् । सिँढीमा सुन्दरताका लागि बिछ्याइएका मार्वल पनि ठाउँ–ठाउँमा फुटेका छन् । भवनको बाहिरतर्फको बरण्डाहरूमा गाईबस्तु, भुस्याहा कुकुर र बेसहारा मानिसहरूको वासस्थानका रूपमा परिणत भएको छ ।

भवन निर्माण सकिएपछि अहिलेसम्म भाडाका लागि प्राधिकरणले पटक–पटक सूचना जारी गर्दा पनि भाडामा लिन कोही नआएको प्राधिकरणले बताएको छ । नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले भने, ‘भवन भाडामा लगाउनका लागि ५ पटक सूचना जारी र्गयौं, ‘तर, सटर भाडामा लिनका लागि कुनै व्यापारीको पनि निवेदन परेको छैन ।’

सूचना अधिकारी पौडेलका अनुसार भवन भाडामा लगाउनका लागि विमानस्थलले पहिलोपटक १२ साउन २०७३ र दोस्रो पटक १८ भदौमा सार्वजनिक सूचना निकालेको थियो ।

उनले भने, ‘चार वर्षको अवधिमा भाडा घटाएर पाँच पटक टेण्डर आह्वान गर्दासमेत कसैको पनि आवेदन परेको छैन ।’ खरामा बढ्दो जनसंख्या र व्यापारिक चाप हुँदासमेत प्राधिकारणले निर्माण गरेको भवन लामो समयसम्म भाडामा जान सकेको छैन । करिब ७ वर्षपहिले प्राधिकरणले निर्माण थालेर सम्पन्न भएको ४ वर्ष बित्दासमेत भाडामा नजानुको मुख्य कारण सो भवन रहेको स्थान व्यावसायिक रूपमा उपयुक्त स्थान नभएको स्थानीयवासीहरू बताउँछन् ।

ठूलो धनराशि खर्चेर बनाइएको यो भवन प्राधिकारणका केही कर्मचारीको स्वार्थका कारण बनाइएको स्थानीयको आरोप छ । ‘यदि व्यक्तिगत स्वार्थ नभएको भए प्राधिकरणले आफूलाई कार्यालय प्रयोजनका लागि नचाहिएको भवन भाडामै नजाने स्थानमा किन बनायो ?,’ स्थानीवासीहरू प्रतिप्रश्न गर्छन् ।’

५ तलाको उक्त भवनमा अन्डरग्राउन्डसहित ५ सटर छन् । व्यवसायका लागि उक्त भवन उपयुक्त स्थानमा नभएको र भाडा दर पनि महँगो भएकाले भाडामा नगएको स्थानीय व्यापारीहरू बताउँछन् । ‘प्राधिकरणले बनाएको भवन व्यापार व्यवसायका लागि उपयुक्त ठाउँ हुँदै होइन,’ स्थानीय एक व्यवसायीले भने, ‘त्यस भवनमा व्यवसाय चम्कन अझै डेढ, दुई दशक कुर्नुपर्छ, तब मात्र व्यवसाय चल्ला । नत्र भाडा तिर्ने बस्ने मात्र हो । अनि यस्तो ठाउँमा व्यवसायको नाउँमा कसले जोखिम मोल्छ ?’

सूचना अधिकारी पौडेलले सरकारले तोकेको न्यूनतम भाडा तोकेर टेण्डर आह्वान गरिएको दाबी गरे । उनले भने, ‘प्रतिमिटर स्क्वायर ३ सयका दरले भाडामा लगाउन पाउने सरकारी नियमअनुसार नै टेण्डर आह्वान गरेका हौं ।’ आवेदन दिन आउने व्यापारीहरूले तीन वर्षको समयावधि कम भएको बताउँदै भाडामा नलिएको उनको भनाइ छ । पाँचपटक सूचना निकाल्दा पनि भाडामा नलागेपछि चाहिँ सूचना नै निकाल्न छाडिएको सूचना अधिकारी पौडेलले सुनाए ।

उनले भने, ‘हामीले लामो समयसम्म भवन भाडामा नगएपछि प्राधिकरणको केन्द्रीय कार्यालय र मन्त्रालयमा पत्राचार गरेर न्यूनतम अवधि १० वर्ष र भाडा पनि घटाउन आग्रह गरेका छौं, अब केही समयमा यसको समय बढ्नुका साथै भाडा पनि घट्नेछ । त्यसपछि भवन भाडामा जान्छ । अब धेरै कुर्न पर्दैैन ।’

Featured