खेलकुद विदेश

पाकिस्तानी क्रिकेटर शादाब खानले सबै म्याच–फिस भुकम्प पीडितलाई दिने

एजेन्सी, असोज ८–पाकिस्तानका क्रिकेटर शादाब खानले श्रीलंकाविरुद्धको सिरिजमा पाउने सम्पूर्ण म्याच फीस भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले भूकम्प पीडितलाई सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

मंगलबार जम्मू–काश्मिरमा गएको भूकम्पका कारण उत्तरी पाकिस्तान क्षतिग्रस्त भएको छ । पाकिस्तानको कब्जामा रहेको कास्मिरमा पर्ने मिरपुरमा केन्द्रविन्दु पारेर गएको ६.३ रेक्टरको भूकम्पमा त्यहाँ मात्र २६ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएका छन् ।

दुवै खेलाडीले ट्विट गर्दै सहयोगका बारेमा जानकारी दिएका थिए । ‘पाकिस्तान भर्सेस श्रीलंकाबिचको सिरिजमा मैले पाउने सम्पूर्ण म्याच फिस भूकम्प पीडितलाई दिने प्रतिज्ञा गर्दछु । आउनुस् सबै मिलेर विपतमा परेका हाम्रा दाजुभाई दिदिबहिनीलाई सक्दो सयोग गरौं । म घरेलु भूमिमा पहिलोपटक पाकिस्तानको प्रतिनिधित्व गर्दै ओडीआई खेल्न पाउँदा एकदमै गौरवान्वित महसुस गर्दै छु । २००९ पछि पहिलोपटक पाकिस्तानमै ओडीआई सिरिज हुँदै छ । हाम्रो टिमलाई समर्थन गर्न आउनुहोला । म सबैलाई यो प्रतिज्ञामा साथ दिनुहुन अनुरोध गर्दछु । हामी आफ्नो तर्फबाट सकेको गरौं ।’ शादाबले ट्विटरमा लेखेका छन् ।

‘भूकम्पले म विक्षिप्त भएको छु, सबैले भूकम्प प्रभावितलाई दिलोज्यानले सहयोग गरौं । सबै पीडित र प्रभावितका लागि म प्रार्थना गर्नेछु । अल्लाहले सबैको रक्ष गरुन्’, अफ्रिदीले लेखेका छन् । पाकिस्तानले श्रीलंकासँग २७ सेप्टेम्बरदेखि ९ अक्टोबरसम्म ओडीआई र टी२० सिरिज खेल्नेछ । पाकिस्तानले कराँचीस्थित नेसनल स्टेडियममा तीन ओडीआई सिरिज खेल्नेछ भने लाहोरको गद्दाफी स्टेडियममा तीन टी२० सिरिज खेल्नेछ ।

Featured