देश

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रहरीलाई ९ गाडी हस्तान्तरण

धनगढी, असोज ८–सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीका लागि ९ वटा गाडी हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डीआईजी तारिणिप्रसाद लम्साललाई ती गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारमा ती गाडीहरू खरिद गरी हस्तान्तरण गरेको हो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । गाडी खरिद गरेको झण्डै अढाइ महिनापछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो ।

प्रदेश प्रहरीका लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि ९ वटै जिल्लामा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए । प्रदेशका सबै जिल्लामा प्रहरीका लागि सवारीसाधन अभाव भइरहेको बेला प्रदेश सरकारले ती गाडीहरू हस्तान्तरण गरेको छ । प्रदेश सरकारले गाडी उपलब्ध गराएसँगै अब प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।

Featured