विदेश

इन्डोनेसियामा ‘विवाहपूर्व संसर्ग वर्जित’ विधेयकविरूद्ध हिंस्रक प्रदर्शन

काठमाडौं, असोज ८–इन्डोनेसियामा ‘विवाहपूर्व संसर्ग वर्जित’ विधेयकविरूद्धको विरोध प्रदर्शनले हिंस्रक रूप लिएको छ । विधेयकलाई लिएर इन्डोनेसियाका कयौं सहरमा प्रदर्शन भएका छन् । प्रहरीले इन्डोनेसिया संसदका अगाडिको प्रदर्शनकारीलाई हटाउन अश्रुग्यास र पानीका फोहरासमेत प्रयोग र्गयो ।

प्रस्तावित नयाँ विधेयकमा गर्भपात र ‘राष्ट्रपति को अपमान’ लाई गैरकानुनी मानिएको छ । विरोध प्रदर्शनका कारण विवादित विधेयक तत्काल पारित गरिएको छैन । प्रदर्शनकारीहरू संसदले यसलाई पारित गरिछाड्छ भन्दै चिन्ता व्यक्त गरेका छन् । विधेयकमा विवाहपूर्व गरिने शारीरिक संसर्गलाई दण्डनीय अपराध मानिएको छ । यसमा एक वर्ष कारावासको सजाय हुन सक्छ । विवाहपूर्व सँगै बस्नु (साझा कोठा) लाई पनि अपराध मानिएको छ । यसमा छ महिना कारावास सजाय हुन सक्छ ।

यस्तै राष्ट्रपति, उप(राष्ट्रपति, धर्म, सरकारी संस्थाहरू र राष्ट्रिय प्रतीकहरू (राष्ट्रीय ध्वजा, राष्ट्रगान आदि) को ‘अपमान गर्नु’ गैरकानुनी कार्य हो । गर्भपात दण्डनीय अपराध हो । बलात्कार र मेडिकल इमर्जेन्सीको अवस्थामा बाहेक गर्भपात गराएमा चार वर्ष कारावासको सजाय हुन सक्छ ।

सुरूमा यस विधेयकमा मंगलबार मतदान तोकिए पनि राष्ट्रपति जोको विडोडोले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् । उनले यस विधेयकमा थप विचार गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिले विधेयकमा थप छलफल आवश्यक रहेको भने पनि इन्डोनेसियालीहरू संसद्ले विधेयक कुनै पनि उपायबाट पारित गर्नेमा चिन्तित छन् ।

नयाँ विधेयकमा भ्रष्टाचार उन्मूलन आयोगलाई कमजोर बनाइएकामा मानिस बढी आक्रोशित भएका छन् । भ्रष्टाचार उन्मूलन आयोग इन्डोनेसियामा भ्रष्टाचारविरूद्ध कारबाही गर्ने प्रमुख संस्था हो ।

इन्डोनेसियाका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले जुलुस निकाले । जुलुसमा युवा विद्यार्थी पनि सामेल भएका थिए । कतिपय स्थानमा विरोध प्रदर्शनले हिंस्रक रूप लिएको थियो । राजधानी जकार्तामा शान्ति र सुरक्षा कायम राख्न पाँच हजारभन्दा बढी सुरक्षाबल तैनाथ गरिएको छ । (बिबिसी)

Featured