देश

राजस्व छल्ने दुई डिस्टलरी सञ्चालक कारागारमा

पर्सा, असोज ८–अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजस्व छल्ने जिल्लाका दुई डिस्टलरी सञ्चालकलाई आन्तरिक राजस्व कार्यालयले ३१ करोड रूपैयाँभन्दा बढी जरिवानासहित एक(एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जय श्री धौलागिरि डिस्टलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजस्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले दुवै उद्योगका सञ्चालकलाई उक्त कारबाही गरेको हो ।

उदयपुर डिस्टिलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओम प्रकाश कलवारलाई २६ करोड १६ लाख रूपैयाँ जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिस्टलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र ५ करोड ४७ लाख रूपैयाँ जरिवाना गरिएको उक्त कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।

दुवै सञ्चालकको जायजेथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारी संहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगन्ज कारागार पठाइएको छ ।

डिस्टलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायत्व पूरा नगरेको प्रमाणित भएकाले ती उद्योगमा कार्यरत चार नासुलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारबाही गरिने निर्णय भएको कार्यालय प्रमुख कोइरालाको भनाइ थियो । (रासस)

Featured