देश

स्वास्थ्य बिमा गरेकाले पनि पैसा नतिरी उपचार पाउँदैनन्

जाजरकोट, असोज ८–आठबिसकोट नगरपालिका(९ रुकुम पश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठबिसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लगिन् । उनले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बिमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएको बताइन् ।

बिमित भएका स्थानीय उपचारमा आए पनि सहज रूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरिद गर्न बाध्य भएको बताउँदै आएका छन् । त्यस्तै नलगाड नगरपालिका(७ रामबहादुर गिरीले नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोश पोखे ।

भेरी नगरपालिका(१ रिम्नाका हरिमान पुनले भने, ‘बिमा गरेका छौँ, यसैबाट काट्नुभन्दा यो रकम कहिले आउँछ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हुँदै आएको छु ।’ बिमितहरु उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुम पश्चिम आठबिसकोट नगरपालिका(६ का कालीबहादुर विकले बताए ।

जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ । बिमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताए । सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बिमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्दै आएका छन् ।

आठबिसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठबिसकोट नगरपालिका(९ रुकुम पश्चिमकी ममताले बताइन् । बिमाको रकम महिनौँ पछि आउने भएकाले हामीलाई घाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आनाकानी गरेको बिरामीले बताएका छन् । (रासस)

Featured