देश

नबिल बैंक चोरीको योजना असफल भएपछि कृषि विकास बैंकबाट पैसा चोरी

काठमाडौँ, असोज ८–कृषि विकास बैंकबाट करिब २ करोड रकम चोरी भएको छ । बैंकको प्रोफिट एन्ड लस (पीएल) एकाउन्टलाई डेबिट गरेर १०–१२ जनाको खातामा ट्रान्सफर गरेर झिकिएको हो । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

बैंकको लहान शाखाबाट ग्राहकको क्रेडिट खातामा रकम ट्रान्सफर भएकाले कर्मचारीमाथि पनि छानबिन सुरू भएको बैंकले जनाएको छ । व्यक्तिगत खाताबाट एकैपटक १० लाखभन्दा बढी रकम झिक्न नमिल्ने भएकाले त्योभन्दा कम रकम पटक–पटक झिकिएको हो । दुई–चार दिन अघिदेखि नै रकम झिकिएको भए पनि मंगलबारमात्र बैंकले थाहा पाएको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट पीएल एकाउन्टलाई डेबिट गरेको थाहा भए पनि कसरी रकम झिकियो भन्नेबारे अनुसन्धान भइरहेको बताए । यसअघि एटीएम ह्याक गरी रकम चोरी भएको थियो ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले पासवर्ड दुरुपयोग गरी रकम झिकिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । ‘ह्याक भएको हो वा कर्मचारी नै संलग्न छन् भन्नेचाहिँ अनुसन्धानपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘छानबिनका लागि बैंकबाट टोली गइसकेको छ ।’ उनले बैंककै कर्मचारी संलग्न रहेको हुनसक्ने संकेत गरे ।

पैसा झिक्नेहरू पहिचान भइसकेको उनले बताए । ‘कहाँ–कहाँ पैसा गएको छ, पहिचान गरी ब्लक गरिसक्यौं,’ उनले भने । समयमै थाहा भएका कारण ठूलो रकम चोरी हुन नपाएको प्रवक्ता पौडेलले बताए । बैंकको पैसा चोरी भएकाले सर्वसाधारणसँग यसको कुनै सम्बन्ध नहुने उनले स्पष्ट पारे ।

Featured