देश शिक्षा

विद्यालय समयमा रक्सी पिउने प्रधानाध्यापकलाई बर्खास्त गर्ने तयारी

खोटाङ, असोज ७–रक्सीले मातिएर कार्यक्रममा सहभागी भएका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रधानाध्यापक खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा राई रक्सी पिएर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको शिक्षा शाखा प्रमुख पुष्पा राईले बताइन् । ‘घरबाटै मातेर कार्यक्रममा आएका प्रधानाध्यापक राईले कार्यक्रम नै बिथोल्न खोजेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौं,’ उनले भनिन् ।

दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका राईलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । ‘जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा राईले रक्सी खाएको देखिएको छ,’ उनले भने, ‘अहिले हिरासतमा रहेका राईलाई थप कारबाहीका लागि नगरपालिकाको शिक्षा एकाइमा पठाउने तयारी गरिएको छ ।’

यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने राईलाई सेवाबाटै हटाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘विद्यालय समयमा रक्सी खाएको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने नगरपालिकाको नगर शिक्षा ऐनको धारा २२ (ख) मा उल्लेख छ,’ उनले भने, ‘राईले रक्सी खाएको पुष्टि भएकाले सेवाबाट हटाउने तयारी गरेका हौँ ।’

नगरका ५६ विद्यालयका प्रधानाध्यापक र नगरबीच २५ बुँदे सम्झौता

राईका कारण झन्डै एक घण्टा ढिला सुरु भएको कार्यक्रममा नगरपालिका र प्रधानाध्यापकबीच अन्तर्क्िरयात्मक छलफल तथा प्रतिबद्धतापछि कार्यसम्पादन करार सम्झौता गरिएको छ । नगरप्रमुख रिजालको रोहवरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा र नगरभित्रका ५६ विद्यालयका प्रधानाध्यापकबीच २५ बुँदे कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

विद्यालय विकास प्रस्ताव तयार गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्नेलगायत सम्झौता भएको छ । सम्झौतापत्रमा प्रत्येक शैक्षिक सत्रको वैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई विद्यालय भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन सुरु गर्ने उल्लेख छ ।

पाठ्यक्रम र शिक्षक निर्दे्शिकालाई सबै शिक्षकले अनिवार्य प्रयोग गर्नेरगराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तु अनुसार सामग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्नेलगायत सर्त सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्रका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको प्रतिबद्ध रहेको जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेको नगरपालिकाले यसअघि आधारभूत तहको कक्षा ६ देखि ८ र ९ देखि १२ सम्म सम्झौता गरिसकेको छ । कक्षा १ देखि ५ सम्मका ५६ विद्यालयसँगै नगरभित्र सञ्चालित सबै (९४ वटै) विद्यालयमा कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेर कार्यान्वयनमा ल्याइएको छ । (रासस)

Featured