देश

काठमाडौं–आँपचौर बस सेवा शुरु

गुल्मी, असोज ७–मुसिकोट नगरपालिका–५ को आँपचौरका लागि काठमाडौँबाट पहिलो पटक दैनिक रुपमा एसी डिलक्स बस सेवा शुरु भएको छ। बडादशैँ र तिहारलाई दृष्टिगत गर्दै यात्रुको सहजताका लागि उक्त सेवा आरम्भ गरिएको हो।

धौलागिरि–गण्डकी यातायात सेवा प्रालिले उक्त सेवा शुरु गरेको हो। प्रालिका अध्यक्ष उमेश केसीका अनुसार हरेक दिन काठमाडौँबाट अपराह्न ३ः३० बजे बस छुट्नेछ। बस पोखरा–बाग्लुङअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै गुल्मीको वामीटक्सार भएर आँपचौरको तल्लाफाँट पुग्नेछ। आँपचौर तल्लाफाँटबाट भने बस हरेक दिन दिउँसो १ः४५ बजे काठमाडौँका लागि छुट्नेछ।

‘चाडबाडको समयमा सर्वसाधारणको सहजताका लागि बस सेवा सञ्चालन गरिएको हो’, उनले भनेका छन्। बस सेवा घरआँगनबाट शुरु भएपछि स्थानीयवासी खुसी छन्। काठमाडौँबाट आँपचौरको तल्लाफाँटसम्म बस भाडा प्रतियात्रु रु एक हजार ५ सय ५० कायम गरिएको छ। (रासस)

Featured