देश

अपहरणमा परेको नाटक गर्ने पौडेल प्रहरी फन्दामा

पोखरा, असोज ७–अपहरणको अभिनय गरी परिवार र प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको अभिनय गर्ने पोखरा फूलबारीका नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पौडेलले यही ४ असोज दिउँसो आफू अपहरणमा परेको भन्दै परिवारमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।

उनी अपहरणमा परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले खोजीकार्य तीव्र पारेको थियो । प्रहरीले अपहरणको विषयलाई निकै गम्भीर रुपमा लिएर खोजी थालेपछि पौडेल स्वयं रुपन्देही जिल्ला प्रहरी कार्यालमा पुगेर आफूलाई पोखराबाट अपहरण गरी अपहरणकारीहरुले छाडेर भारततर्फ गएको जानकारी गराएका थिए ।

प्रहरीले रुपन्देहीबाट पोखरा ल्याइ अनुसन्धान गर्दा जग्गाको कारोबार गर्ने क्रममा पैसा लेनदेनमा कुरा नमिलेपछि विपक्षीलाई फसाउनका लागि आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष उनले स्वीकार गरेको कास्की प्रहरीले जनाएको छ । अपहरणमा परेको नाटक गर्ने पौडेल आफैं रुपन्देही गएको र त्यहाँ गएर उजुरी दिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । लेनदेनको विषयबाट छुटकारा पाउन पौडेलले आफ्नै अपहरणको नाटक गरेको केसीले बताए ।

Featured