देश

कांग्रेसको जागरण अभियान : मर्यादाक्रममा विवादहुँदा सप्तरीमा भाँडमैलो

सप्तारी, असोज ७–नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको जागरण अभियान अन्तर्गतको कार्यक्रममा कार्यकर्ताले एकजना सांसदलाई मञ्चवाटै लडाइदिएका छन् । सप्तरी ४ बाट निर्वा्चित सांसद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मञ्बाटै धक्का दिएर लडाएपछि एउटा समुहले कार्यक्रम बहिष्कार गर्दै नारावाजी सहित प्रदर्शन र विरोधसभा गरेका छन् ।

कार्यक्रम सुरु हुने बेलामा आफुलाई मर्यादा क्रम मिचेर मञ्चमा आसनग्रहणका लागी बोलाइएको भन्दैै आक्रोसित बनेका सांसद चौधरीले मञ्चमै सभापति यादवसमक्ष आपत्ति जनाएपछि दुईपक्षबीच विवाद शुरु भएको हो । आफु जिल्लामा कांग्रेसबाट निर्वा्चित एकमात्र प्रतिनिधिसभा सदस्य भएपनि गाउँ र नगरपालिकाका पदाधिकारी भन्दा पछि आसनग्रहणका लागि बोलाएको भन्दै सांसदले आपत्ति जनाएका थिए ।

जिल्ला सभापतिबिरुद्ध आक्रोश व्यक्त गर्न थालेपछि सभापति पक्षधर कार्यकर्ताले सांसद चौधरीलाई मञ्चवाट धकेलेर निकालेका हुन् । घटनापछि आक्रोसित सासद चौधरी सहित पूर्व सभासद रंजित कर्ण, कार्यकर्ता रामदेव साह लगायतको नेतृत्वमा एक समुहमा कार्यक्रम बहिष्कार गरी सभापति यादव विरुद्घ चर्को नारावाजी गर्दै नेता चौकमा पुगेर विरोध सभा गरेका छन् ।

विरोध सभामा बोल्दै सांसद चौधरीले मञ्चमा सभापति यादव पक्षधरले आफु माथि गरेको दुव्र्यवहारको भत्र्सना गर्दै सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीको केन्द्रीय समितिले कारवाही गर्नुपर्ने माग गरेका छन् ।

Featured