एजेन्सी, असोज ७–क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको टिम बार्बादोस ट्राइडेन्ट्स ५ रनले पराजित भएको छ । जमैका तालेवाजविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १७ रन दिँदै २ विकेट लिएर उत्कृष्ट बलिङ गरेका थिए । तर, ब्याट्सम्यान नचल्दा हार टार्न सकेन ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन मात्र जोड्न सकेको थियो । सन्दीपले विष्फोटक ब्याट्सम्यान चाड्विक वाल्टन र ड्वेन स्मिथलाई पभेलियनको बाटो देखाएका थिए । सन्दीपको बलमा कुनै पनि ब्याट्सम्यानले बाउन्ड्री प्रहार गर्न सकेनन् ।
ग्लेन फिलिप्सले ४१ रन, रमाल लिविसले २७ रन तथा वाल्टनले १३ रनको योगदान दिएपछि जमैका सम्मानजनक योगफल बनाउन सफल भयो । जमैकाका ७ ब्याट्सम्यान दोहोरो अंकको स्कोर नबनाइ आउट भएका थिए ।
१२८ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ गर्न आएको बार्बादोसलाई सधैंझैं फेरि पनि ब्याटिङले धोका दियो । ओपनर जेसन चाल्र्सले सर्वा्धिक ३१ रन, रेमन रेफरले २६ रन, जोनाथन कार्टरले १७ रन तथा एलेक्स हाल्सले १६ रन बनाए । पूरा २० ओभर ब्याटिङ गरेको बार्बादोस ९ विकेट गुमाउँदै १२२ रनमा सीमित भयो ।
सन्दीपले सीपीएलको जारी सिजनका ६ खेल खेल्दै ८ विकेट हात पार्न सफल भएका छन् । जमैका विरुद्धको खेल सन्दीपको यो सिजनको अन्तिमम खेल हो । यसपछि सन्दीप राष्ट्रिय टिमबाट टी–२० सिरिज खेल्न सिंगापुर आउने छन् ।
प्रतिक्रिया दिनुहोस