देश राजनीति

मैले सभापतिलाई गाली गरेको छैन : डा. शशांक

काठमाडौं, असोज ६–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूले कहिल्यै गाली नगरेको बताएका छन् । पार्टी संस्थापन पक्ष ईतरका नेताको रुपमा चिनिएका महामन्त्री कोइरालाले सभापति देउवाको विरोध आफूले कहिल्यै नगरेको र अरुले पनि सभापतिलाई गाली गर्ने काम उपयुक्त नभएको बताए ।

विघटित नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकार काण्डै काण्ड’ को सोमबार विमोचन गर्दै महामन्त्री कोइरालाले भने, ‘पार्टी सभापतिलाई गाली गरेर होइन, सहयोग गरेर अघि बढ्नुपर्छ ।’ पार्टीको आगामी १४औं महाधिवेशनमा सभापतिको आकांक्षा राखेका महामन्त्री कोइरालालाई धेरैले प्रतिस्पर्धीको रुपमा लिइरहेको बेला महामन्त्री कोइरालाले सभापति देउवालाई बलियो बनाउन गरेको आह्वानलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

महामन्त्री कोइरालाले आफ्नै सामु सकारात्मक भाषण गरेपछि हौसिएका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वमा सरकार बनेपछि धेरै भ्रष्टाचार भएको र संविधानविपरीत मानवअधिकार, प्रेस स्वतन्त्रताविरोधी विधेयक ल्याएको आरोप लगाए । ‘यो सरकारले बूढीगण्डकी जलविद्युत परियोजनाको ठेक्का चिनियाँ पक्षलाई दिएर भ्रष्टाचार गरेको छ’, देउवाले भने, ‘बिना प्रतिस्पर्धा कुनै पनि ठेक्का कसैलाई दिनु भनेको नेपालको कानूनअनुसार भ्रष्टाचार र अनियमितता नै हो ।’

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली कांग्रेसमा एउटा अधिवेशस.न सकिएको भोलिपल्ट देखि नै महाधिवेशन लाग्ने गरेको भन्दै सभापति देउवाकाविरुद्ध पार्टीका नेताहरुबाटै आलोचना हुनु गलत परम्परा भएको बताए । ‘नेपाली कांग्रेसभित्र पार्टी सभापतिलाई नै कमजोर बनाउने काम गरिन्छ’, सभापतिलाई कमजोर बनाएर आफू बलियो हुने दाउमा पार्टीलाई कमजोर बनाउने काम हुने गरेको छ ।’

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद एनपी साउदले नेकपाको सरकारले सत्ता सम्हालेपछि मुलुकमा समृद्धि आउनुको सट्टा अराजकता, असुरक्षा र मुल्य वृद्धिले जनताको ढाड सेकिएको बताए । महरद्वारा लिखित ५० पृष्ठ लामो पुस्तिकामा २० वटा महत्त्वपूर्ण ओली सरकारको समयमा भएका घटना र ३० वटा सहायक कमजोरी वा घटनालाई संग्रह गरिएको छ ।

Featured