देश

डोटीमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु

डोटी, असोज ६–सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बिमा बोर्ड काठमाडौँले देशकै ४८ औँ जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भएको जानकारी दिएको हो ।

वि. सं. २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागू भएपछि ‘स्वास्थ्य बिमा कार्यक्रम’ लागू गर्ने सुदूरपश्चिम प्रदेश देशकै पहिलो प्रदेश बन्ने स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौँका जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताए ।

स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा(वडामा दर्ता सहयोगी जनशक्ति राखिने बोर्डले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बाँकी जिल्लामा क्रमशः कार्यक्रम विस्तार गर्दै लैजाने स्वास्थ्य बिमा बोर्डले नीति लिएको बताइएको छ ।

नेपालमा सबैभन्दा पहिले सन् १९७६ मा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालले सिएचडिपी कार्यक्रममार्फत स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । त्यसपछि काठमाडौँ, धादिङ, नवलपरासी र सुनसरीमा विभिन्न संघ(संस्थाबाट उक्त कार्यक्रम लागू गरिएको जनस्वास्थ्य निरीक्षक बोहराले जानकारी दिए । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन वि. सं. २०७४ र स्वास्थ्य बिमा नियमावली वि. सं. २०७५ जारी भई कार्यान्वयनको चरणमा छन् । नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति वि. सं. २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य एकाइ संयोजक राजु खड्काले बताए । स्वास्थ्य बिमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप ७ सय प्रिमियम तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउनेछन् । त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार रुपैयाँ थप गरी दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था छ । (रासस)

Featured